वीरगंज, २५ जेठ । रास्वपा पर्साको मतदान प्रक्रिया शुरु भएको छ । बेलुका साढे सात बजेपछि मतदान शुरु भएको निर्वाचन कमिटीले जनाएको छ ।
९ सदस्यीय जिल्ला समिति र चारवटा क्षेत्रको सात सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित गर्नको लागि मतदानको कार्यतालिका रहेकोमा अहिले क्षेत्र नं. १, ३ र ४ को समिति निर्वाचनको लागि मतदान भइरहेको छ ।
मतदान अघि क्षेत्र नं. २ को संयोजकमा फैयाज मियाँ, उपसंयोजक (क) शान्ति पौडेल ढकाल, उपसंयोजक (ख)मा किशोर यादव, सचिवमा किशन साह, सदस्यहरुमा प्रमोद उपाध्याय र विजय यादव लगायतको समिति निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको छ । यद्यपि यसको आधिकारिक विवरण चुनावको अन्तिम नतिजा आएपछि प्रकाशित गर्ने बुझिएको छ ।
कुल ३२७ प्रतिनिधि रहेको निर्वाचनमा पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त, पर्सा क्षेत्र नं. २ का सुशील साह कानूको प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
जिल्ला समितिको सभापतिमा पन्त र कानूको उम्मेदवारी परेको छ भने उपसभापतिमा दिलीपकुमार कुर्मी, रन्जीत श्रीवास्तव, सचिवमा सुधीश कुमार प्रजापति, शिवकुमार साह, सहसचिवमा कृष्ण पासवान, निरज साह, सदस्यहरुमा नवीनकुमार सोनार, प्रियंकाकुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, समिर अन्सारी, युवराजकुमार पटेल, कामोध्याय चौधरी, सुरेशप्रसाद यादव, महमूद अन्सारी, तुलसा पौडेल अधिकारी, मातृका थापा, शेख जमसेद आलम, शशिदेवी थरुनीलगायत रहेका निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा पर्सा क्षेत्र नं. २, ३ र ४ का सांसदहरु एकातर्फ देखिएका छन् भने संस्थापन पक्ष पर्सा १ का सांसद अर्कोतर्फ देखिएको छ । अबेर रातिसम्म चुनावी नतीजा आउने अनुमान गरिएको छ ।






