वीरगंज, जेठ २७ –
सरकारी सूचना तथा विज्ञापन वितरणमा अपनाइएको नीतिको विरोधमा पर्साका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा आयोजित एक घण्टे धर्ना कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारी सूचना तथा विज्ञापनमा समान पहुँच सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले हाल लागू गरिएको नीतिले मोफसलका सञ्चारमाध्यमलाई विभेद गरेको आरोप लगाएका छन्।
पत्रकारहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष सूचना प्रवाह तथा सञ्चारमाध्यमको अधिकारमाथि असर पर्ने खालका व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा पछिल्लो नीतिले सञ्चार क्षेत्रभित्र असमानता र विभाजन सिर्जना गरेको छ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महासंघले सञ्चार क्षेत्रको हितविपरीतका निर्णय फिर्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।







