वीरगंजमा राष्ट्रिय कबडडी प्रतियोगिता–२०८३ शुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २७ जेठ । वीरगंजमा आजदेखि राष्ट्रिय कबड्डी प्रतियोगिता–२०८३ शुरु भएको छ । वीरगंज–१४ सिद्धार्थ माविको कभर्ड हलमा आयोजित प्रतियोगिताको उदघाटन मधेश खेलकुद परिषदका सदस्य-सचिव शिवजीप्रसाद कानूले गरेका थिए ।

प्रतियोगितामा विभागीय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीनवटा टीम र सातवटा प्रदेश (मधेश प्रदेश, कोशी, गण्डकी, लुम्बिनी,सुदूरपश्चिम, बागमती, कर्णाली) गरेर १० वटा टीमको सहभागिता छ ।

आज एक समारोहबीच कार्यक्रमको भव्य उदघाटन गरिएको थियो । शुक्रवारसम्म हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समावेश गरेर राष्ट्रिय टीम बनाइनेछ । आगामी असोज–कात्तिकमा जापानमा हुने अन्तर्राष्ट्रिय कबडडी प्रतियोगितामा नेपालको महिला, पुरुषको टीमले खेल्ने पक्का भइसकेको वक्ताहरुले बताएका छन्।

कार्यक्रमको उदघाटन गर्दै मधेश खेलकुद परिषदका सदस्य सचिव कानूले भने, हामीले २३ वटा विधामा प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । सीमित साधन स्रोतको बावजूद मधेशप्रदेशमा क्रिकेट, फूटबल, कबड्डी लगायत अन्य खेलकुदका गतिविधिमा परिषद् कटिबद्ध रहेको उनले बताए ।

उदघाटनसत्रमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, क्यान पर्साका अध्यक्ष श्याम मनीष सिंह, पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख नाजीर हुसेनलगायतको सहभागिता रहेको थियो । मधेस खेलकुद परिषद्को आयोजना, मधेश कबड्डी संघको सहकार्य र पर्सा खेलकुद विकास समिति वीरगंजको सहयोगमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् ।

सम्बन्धित पोस्टहरुः