वीरगंज, जेठ २८ –
रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ बंकुल टोल क्षेत्रमा छापा मारेर ३२२ बोरा फर्सीको बिउ बरामद गरेको हो। बरामद बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको र यसको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार त्रिपालले ढाकेर भारततर्फ अवैध निकासी गर्न तयारी अवस्थामा राखिएको बिउ नियन्त्रणमा लिइएको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको छ।
बिउ बरामद गर्ने क्रममा केही स्थानीयले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनामा तीन जना स्थानीय र तीन जना प्रहरी सामान्य घाइते भएका छन्।
रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







