वीरगंज, जेठ २८ –
सशस्त्र प्रहरी बलले पर्साको सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराका ७ हजार ४ सय चल्ला नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको मोबाइल टोलीले बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी क्षेत्रमा विशेष सूचनाका आधारमा करिब ७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका ७४ कार्टुन चल्ला बरामद गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा बिन्दबासिनी गाउँपालिका–४ निवासी ४२ वर्षीय उमेश मुखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार नेपाल प्रहरी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा बरामद गरिएका सबै चल्ला सशस्त्र प्रहरी बल नम्बर १३ गण मुख्यालय पर्सामा नष्ट गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।







