वीरगंज, जेठ २८ –
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) क्षेत्रमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका–९ भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेका थिए भने यादव फास्ट ट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
घटनापछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







