राधेश्याम पटेल // पर्सा , जेठ २८ –
वीरगंजको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तार अभियान दुई महिनाभन्दा बढी समय बित्दा पनि प्रभावकारी रूपमा अघि बढ्न नसक्दा स्थानीयवासी र व्यवसायीहरू चिन्तित बनेका छन्।
गत वैशाख ६ गते सडक विभागले मुख्य सडक क्षेत्रका करिब १ हजार २ सय घर तथा व्यावसायिक संरचनाको अगाडिको भाग हटाएर सडक विस्तार अभियान सुरु गरेको थियो। सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रलाई अतिक्रमण क्षेत्र घोषणा गर्दै संरचना हटाउने कार्य गरिएको थियो।
तर संरचना हटाइएपछि निर्माण कार्यले गति लिन नसक्दा घण्टाघरदेखि मितेरी पुलसम्मको सडकखण्ड धूलो, खाल्डाखुल्डी र भत्किएका संरचनाको अवशेषले अस्तव्यस्त बनेको छ। यसले दैनिक आवागमन र व्यवसाय सञ्चालनमा समेत समस्या सिर्जना गरेको स्थानीयहरूको गुनासो छ।
कतिपय घरधनीले थप संरचना हटाउने काम जारी राखे पनि केहीले भने सडक सीमासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआउँदासम्म पर्खने रणनीति अपनाएका छन्।
यसबीच सडक विस्तार अभियानमा सक्रिय रहेका वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह निलम्बनमा परेपछि अभियान थप सुस्त बनेको स्थानीयहरूको आरोप छ।
सडक विस्तारको प्रारम्भिक चरणमा भत्काइएका कतिपय संरचनामा व्यवसायीहरूले अस्थायी सटर जडान गरी पुनः व्यापार सञ्चालन गरिरहेका छन्। स्थानीयवासीले सडक विस्तारसँगै निर्माण कार्यलाई पनि तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
सडक विभागले भने आवश्यक प्रक्रिया पूरा गर्दै सडक विस्तार तथा निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।







