वीरगंज, जेठ २८ –
बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
प्रहरीका अनुसार घनश्याम न्यौपाने (२४) र कृपा चौधरी (२३) ले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको फर्जी कार्यालय स्थापना गरी विभिन्न सरकारी जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्दै आएका थिए।
उनीहरूले सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र वितरण गरी काममा लगाएको, तर ज्याला नदिएको अनुसन्धानबाट खुलेको छ। साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई समेत भवन विस्तार गर्न लगाएर भाडा तथा निर्माण खर्च भुक्तानी नगरेको प्रहरीले जनाएको छ।
घरधनीको उजुरीपछि गरिएको अनुसन्धानका क्रममा आरोपितहरूले नक्कली सरकारी कागजात, छाप तथा हस्ताक्षर प्रयोग गरेको प्रमाण फेला परेपछि जेठ २० गते दुवै जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाले उनीहरूमाथि ठगी तथा कीर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।







