वीरगंज, जेठ २८ –
अभिनेत्री जाहन्वी कपूर यतिबेला फिल्म ‘पेड्डी’का कारण पुनः चर्चामा आएकी छन्। राम चरण मुख्य भूमिकामा रहेको यस फिल्ममा उनको अभिनय र चरित्र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार जाहन्वीले ‘पेड्डी’मा अभिनय गरेबापत ८ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी हुन्। यो रकम उनको करियरकै अहिलेसम्मको सबैभन्दा उच्च पारिश्रमिक भएको बताइएको छ।
रिपोर्टअनुसार यसअघि उनले फिल्म ‘देवरा’का लागि करिब ५ करोड रुपैयाँ लिएकी थिइन्। ‘पेड्डी’मा भने उनको पारिश्रमिक करिब ५० प्रतिशतले बढेको जनाइएको छ।
फिल्मको छायांकनका क्रममा उनले व्यावसायिक रूपमा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ। ‘देवरा’ र ‘पेड्डी’जस्ता तेलुगु फिल्मपछि दक्षिण भारतीय फिल्म उद्योगमा उनको माग बढ्दै गएको देखिएको छ।
उनलाई अब निर्देशक एटलीको फिल्म ‘राका’मा अल्लु अर्जुनसँग देखिने तयारी रहेको बताइएको छ। साथै, हिन्दी फिल्म ‘लग जा गले’मा पनि उनी अभिनय गर्ने तयारीमा छिन्।
तेलुगु भाषामा ‘पेड्डी’ले राम्रो व्यापार गरिरहेको भए पनि यसको हिन्दी संस्करणले अपेक्षित सफलता हासिल गर्न नसकेको बताइएको छ। नेपालका सिनेमा हलहरूमा समेत यो फिल्म प्रदर्शन भइरहेको छ।







