वीरगंज, जेठ २९ –
वीरगंज महानगरपालिका–३१ सोलखपुर क्षेत्रमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको हो।
अभियानमा सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर, वन कर्मचारी, प्रहरी चौकी बढनियारका इन्चार्ज तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिसहित स्थानीय वन उपभोक्ता समूहका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
टोलीले वन क्षेत्रमा हुने अवैध कटानी र काठ तस्करी नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाएको छ।
वन ऐनअनुसार अवैध कटानी तथा ओसारपसारमा संलग्नलाई कडा कारबाही हुने सरोकारवालाहरूले बताएका छन्।







