नारायणी रंगशाला स्तरोन्नतिका लागि करोडौं बजेट विनियोजन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २९ –

वीरगंजस्थित लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको मर्मत सम्भार तथा स्तरोन्नतिका लागि सरकारले १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तका अनुसार संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत रंगशाला सुधारका विभिन्न शीर्षकमा उक्त रकम छुट्याएको हो।

सांसद पन्तले दिएको जानकारीअनुसार खेलकुद मन्त्रालयमार्फत रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ।

यसैगरी, नारायणी रंगशालामा फ्लड लाइट जडानसहित पूर्वाधार विस्तारका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत थप ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसअघि चालु आर्थिक वर्षको बजेटमा पनि रंगशाला र कभर्ड हलका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

वि.सं. २०४२ सालमा निर्माण गरिएको नारायणी रंगशाला दशकौंदेखि मर्मतको अभावमा जीर्ण अवस्थामा रहेको छ। दर्शक बस्ने प्यारापिट भत्किएको, मैदान बिग्रिएको तथा संरचना क्षतिग्रस्त बनेको कारण नियमित खेलकुद गतिविधि प्रभावित हुँदै आएको छ।

तत्कालीन अञ्चलाधीशको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा खेलकुद संरचना निर्माणका लागि अधिग्रहण गरिएको उक्त रंगशालामा विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो। तर पछिल्ला वर्षमा मर्मत र संरक्षणमा कमी हुँदा संरचना जीर्ण बनेको हो।

नयाँ बजेट विनियोजनसँगै रंगशालाको पुनःजीवन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः