विश्वकपमा अमेरिका विजयी, क्यानडाले ऐतिहासिक पहिलो अंक जोड्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३० –

फिफा विश्वकप २०२६ मा आयोजक राष्ट्र अमेरिका र क्यानडाले सकारात्मक सुरुवात गरेका छन्। अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गर्दा क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो अंक जोडेको छ।

क्यालिफोर्नियाको इन्गलउडमा भएको खेलमा अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे। क्रिस्टियन पुलिसिकको उत्कृष्ट प्रदर्शनमा अमेरिका पहिलो हाफमै ३–० ले अघि बढेको थियो भने जियो रेयनाले इन्जुरी समयमा थप एक गोल गर्दै जित सुनिश्चित गरे। पाराग्वेका लागि माउरिसियोले एक गोल फर्काए पनि हार टार्न सकेनन्।

यस जितसँगै अमेरिकाले विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा चार गोल गर्ने कीर्तिमान बनाएको छ। २४ वर्षीय बालोगुन विश्वकप डेब्यु खेलमै दुई गोल गर्ने सन् १९३० यताकै पहिलो अमेरिकी खेलाडी बने।

यता टोरन्टोमा भएको खेलमा क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ को बराबरी खेल्यो। खेलको २१औँ मिनेटमा जोभो लुकिचको गोलबाट पछि परेको क्यानडाका लागि साइल लारिनले ७८औँ मिनेटमा बराबरी गोल गरेका थिए।

बल नियन्त्रण र अवसर सिर्जनामा क्यानडा हाबी देखिए पनि थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो। यो नतिजासँगै क्यानडाले पुरुष विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ।

सम्बन्धित पोस्टहरुः