‘धरौटी पनि फिर्ता भएन, टीसी पनि पाइएन’ : अभिभावक न्यायको खोजीमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३१ –

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित रामजानकी इङ्ग्लिस बोर्डिङ स्कुलले अभिभावकलाई अनावश्यक दुःख दिएको आरोप सार्वजनिक भएको छ । सखुवाप्रसौनी गाउँपालिका–६ निवासी तसलिम मियाँले विद्यालयले आफ्ना छोरीहरूको स्थानान्तरण प्रमाणपत्र (टीसी) र चारित्रिक प्रमाणपत्र नदिएर भविष्यसँग खेलवाड गरेको आरोप लगाएका छन् ।

मियाँका अनुसार उनले २०७१ सालमा आफ्ना ६ जना छोरीलाई उक्त विद्यालयमा भर्ना गराउँदा प्रत्येक विद्यार्थीको नाममा रु. २ हजार ५०० धरौटी रकम बुझाएका थिए । विद्यालयले विद्यार्थीले पढाइ पूरा गरेपछि वा नाम कटाएर अन्यत्र जाँदा उक्त धरौटी रकम फिर्ता गरिने उल्लेख भएको रसिदसमेत दिएको उनले बताए ।

हाल आफ्ना छोरीहरूलाई वीरगंजमा अध्ययन गराउनुपर्ने भएकाले विद्यालयबाट नाम कटाई स्थानान्तरण तथा चारित्रिक प्रमाणपत्र माग्दा विद्यालयले धरौटी रकम फिर्ता नगरी थप रकम मागिरहेको मियाँको आरोप छ । अहिलेसम्म स्कुलले टीसी समेत नदिएको उनले बताए ।

आफूले भर्नाका बेला बुझाएको धरौटी रकमबाटै आवश्यक शुल्क कट्टा गर्न आग्रह गर्दा विद्यालय प्रशासनले दुर्व्यवहारसमेत गरेको उनले गुनासो गरेका छन् । सोही विषयलाई लिएर उनले रामजानकी इङ्ग्लिस बोर्डिङ स्कुलविरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराई आवश्यक कारबाहीको माग गरेका छन् ।

विद्यालयको प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा सम्बन्धित मोबाइल नम्बरमा फोन उठेन । यद्यपि, यस विषयमा केही दिनअघि सम्पर्क गर्दा विद्यालयका निर्देशक सन्तोष साहले भेटेर कुरा गर्न आग्रह गर्दै कुनै प्रतिक्रिया नदिई फोन काटेको मियाँले बताए ।

यस विषयमा सखुवाप्रसौनी गाउँपालिकाकी न्यायिक समिति संयोजक तथा उपाध्यक्षसँग बुझ्दा शिक्षा सम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार न्यायिक समिताभित्र नपर्ने बताइएको छ । उनले उक्त निवेदन शिक्षा शाखामा दर्ता गर्न सल्लाह दिएको र मियाँले सम्बन्धित शाखामा निवेदन दर्ता गराइसकेको जानकारी दिइन् ।

शिक्षा शाखा प्रमुख भरत गिरिसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन नउठेकाले आवश्यक प्रक्रिया कहाँसम्म पुगेको छ भन्नेबारे जानकारी प्राप्त हुन सकेन ।

सम्बन्धित पोस्टहरुः