वीरगंज, जेठ ३१
बिहारको चर्चित ‘खान ग्लोबल स्टडीज’ कोचिङ संस्थानमा भएको आक्रमण तथा तोडफोड प्रकरणमा मुछिएका प्रिन्स यादव नेपालको विराटनगरस्थित एक होटलमा शंकास्पद अवस्थामा मृत फेला परेका छन् । घटनाले भारतमा चर्चित बनेको कोचिङ विवादलाई नयाँ मोड दिएको छ ।
प्रिन्स यादव बिहारको सहरसा जिल्लाका निवासी तथा प्रख्यात शिक्षा व्यवसायी एवं ‘ज्ञान विन्दु एकेडेमी’का सञ्चालक रौशन आनन्दका भाइ हुन् । उनी संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
जानकारी अनुसार पटनास्थित ‘खान ग्लोबल स्टडीज’मा केही समयअघि भएको आक्रमण, तोडफोड तथा ढुंगामुढा घटनापछि ज्ञान विन्दु एकेडेमीसँग सम्बन्धित व्यक्तिविरुद्ध गम्भीर मुद्दा दर्ता गरिएको थियो । सोही प्रकरणमा पटना प्रहरीले रौशन आनन्दलाई पक्राउ गरिसकेको छ भने प्रिन्स यादव फरार रहेका थिए ।
प्रहरी कारबाहीबाट बच्नका लागि उनी केही दिनअघि नेपाल प्रवेश गरेको बताइएको छ । यसैबीच विराटनगरको एक होटलको कोठाभित्र उनको शव फेला परेपछि घटनाले थप रहस्य उत्पन्न गरेको छ ।
घटनाको जानकारी पाएलगत्तै मोरङ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरको टोली घटनास्थल पुगेको थियो । प्रहरीले होटललाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन होटल र आसपासका क्षेत्रबाट पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएको छ ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।
प्रहरी अधिकारीहरूका अनुसार घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । मृत्यु आत्महत्या, प्राकृतिक कारण वा योजनाबद्ध हत्या के हो भन्ने विषयमा हाल कुनै निष्कर्षमा पुग्न नसकिने भएकाले अनुसन्धान जारी रहेको जनाइएको छ ।






