वीरगञ्ज, १ असार ।
विभिन्न चार वटा मुद्दामा कैद र जरिवाना सजाय ठहर भई लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं. २ बस्ने ३४ वर्षीय राजेश सहनी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १२ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) हरि बहादुर बस्नेतका अनुसार सम्मानित अदालतहरूबाट विभिन्न मिति र समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा ज्येष्ठ २९ गते बेलुकी अन्दाजी १८:०० बजे सहनीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सहनीमाथि पर्सा र काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसूर, मुद्रा सम्बन्धी कसूर तथा चेक अनादरका मुद्दाहरूमा कैद र जरिवानाको फैसला भएको थियो ।
मुद्रा सम्बन्धी कसूर (काठमाडौँ जिल्ला अदालत): १ वर्ष ५ महिना ५ दिन कैद र रु. १५,००० जरिवाना (फैसला मिति: २०८१।०३।०९), बैंकिङ कसूर (पर्सा जिल्ला अदालत): २ दिन कैद र रु. ३,६०,००० जरिवाना (फैसला मिति: २०८१।०३।३०), चेक अनादर (पर्सा जिल्ला अदालत): रु. १,००० जरिवाना (फैसला मिति: २०८०।०३।२६), चेक अनादर (पर्सा जिल्ला अदालत): रु. १,००० जरिवाना (फैसला मिति: २०८१।०८।२५)
प्रहरीले नियन्त्रणमा लिएका सहनीलाई कैद तथा जरिवाना भुक्तानीका लागि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँदै सम्मानित पर्सा जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।






