वीरगंज, असार १ –
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये चालु खर्च ३५.५४ प्रतिशत र पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वन तथा वातावरणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याइएको हो ।
बजेटको स्रोत व्यवस्थापनअन्तर्गत आन्तरिक स्रोत तथा राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
अर्थमन्त्री भट्टराईले बजेट स्रोत व्यवस्थापनका लागि १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने पनि जानकारी दिए ।
बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदानबापत ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदानबापत ९४ करोड ७४ लाख रुपैयाँ तथा विशेष समपूरक अनुदानबापत ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यी शीर्षकबाट कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।






