वीरगंज, १ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भइसकेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाडौंले बारा जिल्लामा २० हजार ९ सय २१ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको अधिकारीले जानकारी दिनुभयो। तर, जिल्ला आर्थिक गणना कार्यालय, बाराले अनुमानित संख्याभन्दा बढी प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरी तोकिएको लक्ष्यसमेत पार गर्न सफल भएको जनाएको छ।
गणनाको प्रारम्भिक तथ्याङ्क हेर्दा जिल्लामा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि विस्तार हुँदैगएको र व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। यसले बाराको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको अधिकारी दासको भनाइ छ।
नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ को स्थलगत तथ्याङ्क सङ्कलनको कार्य देशभर वैशाख २ गतेदेखि असार ठ गतेसम्म संचालन भईरहेको छ। गणना कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लाभर ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएका छन।
उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवसाय तथा प्रतिष्ठानमा पुगेर स्थलगत तथ्याङ्क सङ्कलन गरिरहेका छन। गणनाको क्रममा जिल्लाका सोह्रवटै पालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण सामग्री, वित्तीय सेवा कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धीत प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह, व्यवसायी तथा सरोकारवालाबाट प्राप्त सहयोगका कारण गणना कार्य प्रभावकारी रूपमा अगाडि बढिरहेको जिल्ला आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले जानकारी दिनुभयो।
बारामा पनि गणना कार्य सन्तोषजनक रूपमा अगाडि बढिरहेको र निर्धारित समयभित्र गुणस्तरीय तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य राखिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण सङ्कलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महŒवपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
कार्यालयले गणनामा सहयोग गर्न तथा छुटेका प्रतिष्ठानहरूले गणनाकर्मीलाई आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धीत व्यवसायी तथा उद्योगीलाई आग्रह गरेको छ। गणनाको अन्तिम विवरण सार्वजनिक भएपछि जिल्लाको आर्थिक संरचना, व्यावसायिक प्रवृत्ति तथा रोजगारीको अवस्थावारे थप स्पष्ट हुने आर्थिक गणना अधिकारी दासले बताउनुभयो।






