वीरगंज, असार २
कृषि, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल तथा दाल उद्योग सङ्घलगायत निकायलाई किसानबाट तोकिएको मूल्यमा धान खरिद सुनिश्चित गर्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिस्यानका कारण भण्डारणमा समस्या हुने गरेको तथा किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको छ ।
मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न चैते धान खेतीको संरक्षण र विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । धान तथा चामल उद्योगीसहित सम्बन्धित निकायसँग समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन विशेष पहल गरिने मन्त्रालयले जनाएको छ ।





