वीरगंज, असार २
विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् । अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।
न्युजिल्यान्डका लागि इजिल जस्टले सातौं र ५५औं मिनेटमा गोल गरे । इरानका रमनी रेजाइनले ३२औं मिनेटमा बराबरी गोल फर्काए भने ६४औं मिनेटमा मोहम्मद मोहेवीले गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
यसअघि समूह ‘जी’ अन्तर्गतकै खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । इजिप्टका इमाम आशौरले १९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको ६६औं मिनेटमा इजिप्टका मोहम्मद हानीबाट भएको आत्मघाती गोलका कारण बेल्जियम हारबाट जोगिएको थियो ।
यस्तै, आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरेबियाले गोलरहित बराबरी खेलेका छन् भने गए राति भएको अर्को खेलमा स्पेन र केप भर्डेले पनि अंक बाँडेका छन् ।





