वीरगंज, असार २
ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत वीरगंजका एक विद्यार्थीको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका–२२ निवासी १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्लस टुमा अध्ययनरत सिंहले सोमबार बिहान करिब साढे १० बजे कलेज भवनको चौथो तलाबाट हाम फालेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल सुमेरु अस्पताल लगिएको थियो ।
उपचारका क्रममा सोमबार साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनास्थलबाट एक सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । नोटमा उनले ‘अब घर फर्कन्न’ लेखेको उल्लेख गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





