वीरगंज, २ असार । पर्सा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित दुर्ई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २१ स्थित ड्राईपोर्ट–परवानीपुर सडकखण्डबाट चालकसहित दुईजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले पथलैयाबाट वीरगंज आउँदै गरेको बा १९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी खानतलासी गरेको थियो।
उक्त गाडीको पछाडिको डब्बामा त्रिपालले छोपी प्लास्टिकले बेरिएको अवस्थामा ८ पोका (अन्दाजी १०९ केजी) लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सुबास थामी (चालक, सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका वडा नं. २ बस्ने, वर्ष ३०) र छत्र बहादुर थामी ( सोही स्थान बस्ने, वर्ष २८)लाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न उक्त बोलेरो पिकअप गाडी र गाँजा बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जनाएका छन् ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।







