वीरगंज, असार ३
नेपाल पत्रकार महासंघ पर्साले वीरगञ्ज महानगरपालिकासँग सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित रोकिएको बजेट तत्काल निकासा गर्न माग गरेको छ ।
महासंघले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको संरक्षण, स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण तथा पत्रकारिता विकासका लागि विनियोजित रकम हालसम्म भुक्तानी नभएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।
महासंघका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लोककल्याणकारी सूचना प्रकाशन तथा प्रसारणका लागि छुट्याइएको बजेट आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सम्बन्धित सञ्चारमाध्यमले प्राप्त गर्न सकेका छैनन् । साथै संस्थागत विकासका लागि विनियोजित बजेट पनि रोकिएको जनाइएको छ ।
त्यस्तै, स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानुनमा व्यवस्था गरिएको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम समेत हालसम्म कार्यान्वयन नभएको भन्दै तत्काल लागू गर्न आग्रह गरिएको छ ।
महासंघले साप्ताहिक पत्रपत्रिकालाई सुविधा तथा अवसरबाट वञ्चित गर्ने विभेदकारी निर्णय खारेज गर्न, सञ्चारमाध्यमलाई भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न तथा पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि छुट्याइएको बजेट उपलब्ध गराउन माग गरेको छ ।
ज्ञापनपत्र महासंघ पर्साका सचिव विजयकुमार महतोले हस्ताक्षर गरी महानगरपालिकामा बुझाएका हुन् ।









