वीरगंज, असार ३
बीबीसी मास्टर सेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले हिरासतबाट मुक्त भएपछि पत्रकार सम्मेलन गर्दै आफ्नो पक्राउ र ‘मिथिला थाली’ रेस्टुरेन्टसँग सम्बन्धित विवादबारे स्पष्टीकरण दिएका छन् ।
काठमाडौँको गैरीधारामा रहेको ‘मिथिला थाली’ सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको व्यावसायिक कारोबारलाई लिएर विवाद उत्पन्न भएको उनले बताए । साहका अनुसार आर्थिक समस्यामा रहेको ‘सिला’ रेस्टुरेन्टको सम्पत्ति खरिद गरी मिथिला थाली सञ्चालन गर्न २ करोड २५ लाख रुपैयाँको सम्झौता गरिएको थियो ।
उनले सम्झौता कार्यान्वयनका क्रममा करिब ४० लाख रुपैयाँ भाडा र २ लाख ७७ हजार रुपैयाँ विद्युत् महसुल आफूहरूले भुक्तानी गरेको दाबी गरे । साथै आर्जव होल्डिङ्सले लिएको बैंक ऋणको किस्ता पनि पटक–पटक तिरेको उनको भनाइ छ ।
विवादमा आएको २५ लाख रुपैयाँमध्ये बैंकिङ प्रणालीमार्फत २८ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको उनले दाबी गरे । व्यक्तिगत खातामा रकम माग भए पनि आफूहरूले संस्थागत खातामार्फत नै भुक्तानी गरेको साहको भनाइ छ ।
अदालतको फैसलाअनुसार केवल ४ लाख ५० हजार रुपैयाँको विषयमा पक्राउ गरिएको उल्लेख गर्दै उनले उच्च अदालत जाने कानुनी प्रक्रिया बाँकी रहँदै सीआईबीले हतारमा पक्राउ गरेको आरोप लगाए ।
साहले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको र फरार नभएको स्पष्ट पार्दै यस्तो पक्राउले आफ्नो प्रतिष्ठामा आँच पुगेको बताए । उनले मिथिला थालीलाई थप विस्तार गर्ने योजना रहेको र कानुनी प्रक्रिया मार्फत विवाद समाधान गर्ने बताएका छन् ।







