वीरगंज चिनी कारखाना पुनः सञ्चालनमा ल्यानको लागी रुस तयार

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३ –

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग रहने बताउँदै नेपाल सरकारबाट औपचारिक अनुरोधसहित सूची प्राप्त भए वीरगंज चिनी कारखाना र जनकपुर चुरोट कारखानालगायतका बन्द औद्योगिक प्रतिष्ठान पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको बताएका छन्। वीरगंज चिनी कारखाना करिब दुई दशकदेखि बन्द अवस्थामा रहेको छ।

उनले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पनि रुस नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए।

भेटमा उपराष्ट्रपति यादवले सन् १९५६ देखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको स्मरण गरे। उनले पारस्परिक सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले पछिल्लो समय दुई देशबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति सन्तोष व्यक्त गर्दै रुसी राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका थिए।

सम्बन्धित पोस्टहरुः