वीरगंज, ३ असार।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको १७ औं गाउँँसभा तथा अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
बुधवार आयोजित गाउँँसभामा उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम पेश गर्दै स्वास्थ्य, शिक्षा, कृषि, सिंचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिइन्।
गाउँँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड १९ लाख ४४ हजार रुपियाँँ बराबरको बजेट सीमा निर्धारण गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार बजेटका स्रोतहरूमा संघीय समानीकरण अनुदानतर्फ ९ करोड ४० लाख, प्रदेश समानीकरण अनुदानतर्फ ६६ लाख, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड ८९ लाख ४४ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ७५ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड, संघीय समपूरक अनुदानतर्फ १ करोड २९ लाख, संघीय सशर्त अनुदानतर्फ १६ करोड ४० लाख, आन्तरिक स्रोततर्फ १ करोड ५० लाख तथा प्रदेशको अन्य अनुदानतर्फ १ करोड ३० लाख रुपियाँँ प्राप्त हुने अनुमान गरिएको छ।







