फेसबुकमा भ्युज’का लागि पत्रकारिता होइन, समाजप्रति जिम्मेवार बनौँः वक्ताहरू

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल,वीरगंज, ४ असार

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पत्रकारिता क्षेत्र मर्यादित, स्वच्छ र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । मिडिया काउन्सिल मधेशको आयोजनामा वीरगंजको एक होटलमा आयोजित ‘स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता’ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। “पत्रकारलाई देशको चौथो अंगका रूपमा लिइन्छ । समाजले पत्रकारमाथि ठूलो विश्वास गरेको हुन्छ । त्यसैले, समाजको विश्वासमा खरो उत्रिनु र जिम्मेवारीका साथ कलम चलाउनु नै असल पत्रकारको धर्म हो,“ पूर्वमुख्यमन्त्री राउतले भने। मुख्य अतिथि समेत रहेका पूर्वमुख्यमन्त्री राउतले पर्साका पत्रकारहरूका लागि आयोजित यस तालिमले आगामी दिनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्न मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे ।

के–के विषयमा दिइयो प्रशिक्षण?
मिहिडया काउन्सिलकी कार्यबाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । प्रशिक्षणका क्रममा डिजिटल युगका चुनौतीहरूलाई चिर्दै व्यावसायिक बन्नेबारे सञ्चारकर्मीहरूलाई सचेत गराइयो।

‘भ्युज’को पछि लाग्दा पत्रकारिता जोखिममा
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले प्रविधिको दुरुपयोग र सस्तो लोकप्रियताप्रति चिन्ता व्यक्त गरे । उनले भने, “फेसबुकमा भ्युज कमाउने नाममा असान्दर्भिक समय र असान्दर्भिक स्थानमा पुगेर जथाभाभी रिपोर्टीङ गर्ने प्रवृत्ति बढेको छ, यो बिल्कुलै ठीक होइन। गल्ती गर्ने सञ्चारकर्मीहरू अब सच्चिनुपर्ने बेला आएको छ। “ उनले नियम र कानुनको परिधिभित्र रहेर जनमुखी पत्रकारिता गर्न सबैलाई ध्यानाकर्षण गराए । त्यस्तै, महासंघका पूर्वसचिव दिपेन्द्र चौहानले लोकप्रियताका लागि सामाजिक सञ्जालमा गरिने अमर्यादित क्रियाकलाप पत्रकारिता नभएर स्वयं सञ्चारकर्मीकै लागि आत्मघाती र जोखिमपूर्ण काम भएको टिप्पणी गरे।

प्रशिक्षणका मुख्य केन्द्रहरूः

पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन,
समाचार सम्प्रेषणमा सत्यता, निष्पक्षता र तथ्यपरकता,
गलत तथा भ्रामक सूचना नियन्त्रण,
स्रोतको गोपनीयता र सामाजिक उत्तरदायित्व,
सामाजिक सञ्जालको जिम्मेवार प्रयोग ।

१२५ भन्दा बढी पत्रकारको उत्साहजनक सहभागिता नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछानेले यो तालिमले सबैलाई जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बन्जाराले तालिमले सहभागीहरुले नयाँ सीप सिक्न मद्दत गर्ने र वरिष्ठ पत्रकार झाको तालिम फलदायी होस भन्ने कामना समेत व्यक्त गरे । पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले तालिमले नयाँ–पुरान सबै पत्रकारलाई एउटै थलोमा भेट्ने अवसर पनि जुराएको र यसले नयाँ कुरा सिकाउने भएकोले गम्भीर भएर सिक्न सुझाए । सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले मोफसलको पत्रकारिताको व्यावसायिक स्तर वृद्धि गर्न र जिम्मेवार सञ्चार अभ्यासलाई प्रवद्र्धन गर्न कोशेढुङ्गा साबित हुने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्मा, शंकर खतिवडा, कन्हैयालाल केसरी, शेषमन पण्डित लगायतका अग्रज पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।

तस्वीर // श्रवण कुमार सा

भर्खरै

सम्बन्धित पोस्टहरुः