पोखरियामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ४ –

भारतको महावाणिज्य दूतावास, वीरगंजको आयोजनामा तथा पोखरिया नगरपालिका र रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको पोखरिया नगरपालिका–स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ।

“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम भारतको महावाणिज्य दूतावासले सञ्चालन गरिरहेको योग दिवस शृङ्खलाको चौथो कार्यक्रमका रूपमा गरिएको हो।

कार्यक्रममा ३५० भन्दा बढी विद्यार्थी तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक योग अभ्यासमार्फत स्वास्थ्य, शारीरिक सन्तुलन र मानसिक शान्तिका लागि योगको महत्वबारे जानकारी लिएका थिए।

कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल प्रमुख अतिथि रहेका थिए। पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान तथा उपप्रमुखलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महावाणिज्य दूत देवी सहाय मीनाले योगलाई दैनिक जीवनमा अपनाउन आग्रह गर्दै विद्यार्थीहरूलाई सानै उमेरदेखि स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुन प्रेरित गरे।

कार्यक्रम सामूहिक योग सत्र र योगलाई नियमित जीवनशैलीमा समावेश गर्ने संकल्पसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः