वीरगंज, असार ४ –
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा वीरगंज महानगरपालिकाको समन्वयमा सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ।
आगामी मनसुन तथा सम्भावित प्राकृतिक एवं मानवजन्य विपद्लाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका कार्यालयको सभाहलमा तीन दिने तालिम सञ्चालन गरिएको थियो। तालिमको समापन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
तालिममा स्थानीय समुदायका ३० जना स्वयंसेवकहरूको सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा खोजी–उद्धारसम्बन्धी व्यवहारिक सीप प्रशिक्षण प्रदान गरेका थिए।
समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीलगायत सुरक्षा निकायका अधिकृतहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार तालिमले वीरगंज क्षेत्रमा विपद् व्यवस्थापन क्षमता वृद्धि गर्दै सम्भावित क्षतिलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।







