एजेन्सी , असार ५ –
इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। अमेरिका–इरानबीच युद्ध रोक्ने सहमतिपछि पनि इजरायलले सुरक्षा कारण देखाउँदै सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उत्तरी इजरायलको ‘रुट ६०’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उत्तर क्षेत्रमा सुरक्षा व्यवस्था पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले दक्षिणी लेबनानमा सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको भन्दै त्यहाँबाट पछि नहट्ने संकेत गर्नुभएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले पनि दक्षिणी लेबनानमा आफ्नो नयाँ सैन्य संरचना सार्वजनिक गर्दै तत्काल सेना फिर्ता गर्ने कुनै योजना नरहेको जनाएको छ। सेनाले सम्भावित सुरक्षा खतरालाई निष्क्रिय पार्ने अभियान जारी रहने बताएको छ।
यसैबीच इजरायलले लेबनानको सरकारी सेनालाई सुरक्षा क्षेत्र आसपासका गतिविधि आफ्नै सेनासँग समन्वय गरेर मात्र गर्न चेतावनी दिएको छ।
अमेरिका र इरानबीचको शान्ति सहमतिमा विभिन्न मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता भए पनि इजरायलको पछिल्लो निर्णयपछि शान्ति प्रक्रियाको प्रभावकारिता र दीर्घकालीन स्थायित्वबारे प्रश्न उठेको छ।






