वीरगंज, ५ असार।
आर्थिक वर्ष २०८३–०८४ का लागि पर्सागढी नगरपालिकाले ५० करोड ५० लाख ४१ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
शुक्रवार नगरसभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुखले प्रस्तुत गरेको बजेट अनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान, आन्तरिक आम्दानी तथा गत आर्थिक वर्षको मौज्दात रकमलाई समेटेर कुल बजेट विनियोजन गरिएको हो।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रशासनिक तथा सञ्चालन खर्चतर्फ करिब ११ करोड रुपियाँँभन्दा बढी रकम विनियोजन गरेको छ भने विकास तथा पूँजीगत खर्चतर्फ १७ करोड ४५ लाख ९० हजार रुपियाँँभन्दा बढी रकम छुट्याएको जनाएको छ।
बजेटमा स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य चौकीको स्तरोन्नति, कृषि उत्पादन वृद्धि, रोजगार प्रवद्र्धन तथा वातावरण संरक्षणलाई विशेष महत्व दिइएको छ। नगरस्तरीय योजनाका साथै वडा तहका योजनालाई समेत समेटेर बजेट बाँडफाँड गरिएको छ।
त्यसैगरी नगरपालिकाले आर्थिक ऐन २०८३ समेत प्रस्तुत गर्दै घरजग्गा कर, व्यवसाय कर, सवारी साधन कर, विज्ञापन कर, बहाल कर, सेवा शुल्क तथा अन्य स्थानीय राजस्वका स्रोतहरूबाट आम्दानी सङ्कलन गर्ने व्यवस्था गरेको छ। ऐनमा कर तथा शुल्क सङ्कलन, छुट, जरिवाना र प्रशासनिक पुनरावलोकन सम्बन्धी व्यवस्था समेत उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकास, आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा योगदान पु–याउने अपेक्षा गरिएको छ। नगरसभाबाट नीति तथा कार्यक्रमसँगै आर्थिक ऐन र बजेट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा आर्थिक ऐन आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।






