घोडा चढाएर अवकाशप्राप्त सईलाई गरियो भावपूर्ण बिदाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ६ —

नेपाल प्रहरीमा तीन दशक सेवा पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी नायब निरीक्षक (सई) दिलीपकुमार दासलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजमा विशेष सम्मानसहित बिदाइ गरिएको छ।

शुक्रबार आयोजित कार्यक्रममा प्रदेश कार्यालयमा कार्यरत दासलाई घोडा चढाएर कार्यालय परिसरबाट सम्मानपूर्वक बिदाइ गरिएको हो। अवकाशप्राप्त प्रहरी कर्मचारीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पाली मगरले लामो समयसम्म संगठनमा समर्पित भएर योगदान पुर्‍याएका प्रहरी कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्दा संगठनभित्र सकारात्मक सन्देश प्रवाह हुने बताए।

उनले यस्ता कार्यक्रमले सेवामा कार्यरत प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुका साथै इमानदार र समर्पित सेवाका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

बिदाइ कार्यक्रममा प्रहरी अधिकृत, जवान तथा अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहकर्मीहरूले दासको ३० वर्षे सेवायात्राको प्रशंसा गर्दै सम्मान र शुभकामनासहित बिदाइ गरेका थिए।

सम्बन्धित पोस्टहरुः