कक्षा १२ को नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले दिए स्पष्टीकरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार ५ —

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो सार्वजनिक गरिए पनि उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको बताएका छन्। नतिजालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।

मन्त्री पोखरेलका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानमै समपरीक्षण गर्ने व्यवस्था मिलाइएको थियो। उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण कार्य समयमै सुरु गरिएकाले यसलाई हतारमा गरिएको मूल्यांकन भन्न नमिल्ने उनको भनाइ छ।

उनले परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको र प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको उल्लेख गरेका छन्। परीक्षा दस्तुर वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभई गएको वर्षको पूरक परीक्षादेखि नै लागू भएको व्यवस्था रहेको भन्दै यस विषयमा सरकारले कुनै नयाँ निर्णय नगरेको पनि स्पष्ट पारे।

मन्त्री पोखरेलले यस वर्षको नतिजालाई अस्वाभाविक रूपमा छिटो आएको नभई विगतमा हुँदै आएको अनावश्यक ढिलाइमा सुधार भएको रूपमा बुझ्नुपर्ने बताएका छन्। गएको वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत झण्डै आठ प्रतिशतले वृद्धि भएको तथ्य पनि उनले उल्लेख गरेका छन्।

वैशाख १४ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो। यस वर्ष ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

सम्बन्धित पोस्टहरुः