वीरगंज, असार ६ —
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षणसँग सम्बन्धित निकायहरू सक्रिय भएका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगंज महानगरपालिका–३२ परसवामा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको सालका गोलिया तथा फर्निचर प्रयोजनका काठ बरामद गरेको छ।
संयुक्त टोलीले त्रिपालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणमा सालको काठ फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त काठ वन क्षेत्रबाट अवैध रूपमा कटानी गरी संकलन गरिएको आशंका गरिएको छ। बरामद काठ नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।
छापामार कारबाहीका क्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानु, उपाध्यक्ष असलम आलम, सदस्यहरू भइया रामप्रसाद पटेल, श्रवण साहलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले वन सम्पदा संरक्षणमा स्थानीय समुदाय, वन कार्यालय र सुरक्षा निकायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
वन ऐन, २०७६ अनुसार अनुमति बिना वन पैदावारको कटानी, ओसारपसार, भण्डारण वा बिक्री–वितरण गर्नु कानुनविपरीत मानिन्छ। अवैध रूपमा काठ तस्करी गरेको प्रमाणित भएमा संलग्न व्यक्तिलाई जरिवाना, कैद तथा वन पैदावार जफतसम्मको व्यवस्था रहेको छ।
स्थानीयवासीले पछिल्लो समय वन क्षेत्रबाट चोरी कटानी र तस्करीका घटनामा वृद्धि भइरहेको भन्दै सम्बन्धित निकायलाई नियमित अनुगमन तथा कडा कारबाही गर्न आग्रह गरेका छन्। संयुक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने तयारी भइरहेको जनाएको छ।






