सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार ६ —

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे मूल्याङ्कन गरी दलको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले संसदीय दल र पार्टीबीचको समन्वय थप सुदृढ बनाउँदै संसदमा भूमिका प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले राष्ट्रिय महत्वका विषय र जनजीविकासँग सम्बन्धित मुद्दा संसदमा सशक्त रूपमा उठाइने बताए।

प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणी अस्वीकार गर्दै पौडेलले कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गरे। सरकार प्रतिपक्षको आवाजप्रति संवेदनशील नभए त्यसको मूल्याङ्कन नागरिकले गर्ने उनको भनाइ छ।

नेता अभिषेकप्रताप साहले सरकारको ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अब कांग्रेसको प्रतिपक्षी भूमिका थप प्रभावकारी र आक्रामक हुने बताए। उनले सरकार सामाजिक सञ्जाल केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै बजेट तथा कर नीतिको आलोचना गरे।

नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै कांग्रेसले आगामी दिनमा सरकारका गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै सदनमा सशक्त हस्तक्षेप गर्ने जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः