वीरगंज, ६ असार।
बारा जिल्लाको फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३९ करोड १६ लाख ९७ हजार रुपियाँँको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
गाउँँपालिकाका अध्यक्ष रूस्तम अन्सारीले १८ औं गाउँँ सभाको विशेष कार्यक्रमबिच उक्त बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८९ लाख रुपियाँँ र सशर्त अनुदानतर्फ १४ करोड ३९ लाख रुपियाँँ आय हुने अनुमान गरिएको छ।
यसैगरी संघीय सरकारकै विशेष अनुदानबाट ५१ लाख र समपूरक अनुदानबाट २० लाख रुपियाँँ प्राप्त हुने लक्ष्य राखिएको छ भने राजस्व बाँडफाँडबापत ८ करोड ७० लाख ४० हजार रुपियाँँ आम्दानी हुने प्रक्षेपण छ। प्रदेश सरकारतर्फबाट समानीकरण अनुदानबापत ६८ लाख र राजस्व बाँडफाँडबाट ३० लाख रुपियाँँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
गाउँँपालिकाको आन्तरिक राजस्व र गत आर्थिक वर्षको नगद मौज्दातबापत कुल ४ करोड ४९ लाख ५७ हजार रुपियाँँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।
यस पटकको बजेटमा फेटा गाउँँपालिकाले विशेष गरी कृषि तथा पशुपालन, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणजस्ता उच्च प्राथमिकतामा राखेर योजनाहरू अगाडि सारेको छ।






