रास्वपा महाधिवेशन : बालेन, रवि र गगन एउटै मञ्चमा

1200x150_1200x150-01.jpg (1)

चितवन, असार ८ —

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुगेका छन्। आज दिउँसो २ बजे सुरु हुने रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि सहभागी हुने भएका छन्। कांग्रेसले शनिबार मात्रै थापाको सहभागिता टुंगो लगाएको हो। यससँगै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एउटै मञ्चमा देखिने भएका छन्।

भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशन मंगलबारसम्म सञ्चालन हुनेछ। देश तथा विदेशबाट झन्डै चार हजार प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहने रास्वपाले जनाएको छ। पार्टीले सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।

महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन तथा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने जनाइएको छ। श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधिसमेत सहभागी नहुने भएको छ।

यसअघि फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति गगन थापाले रास्वपाको प्रथम महाधिवेशन सफलताको कामना गरेका थिए। उनले छोटो अवधिमै रास्वपाले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाएको उल्लेख गर्दै पार्टी विचार, संगठन र नीतिका हिसाबले अझ परिपक्व बन्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित पोस्टहरुः