रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु : बालेन–रवि घण्टी बजाए

1200x150_1200x150-01.jpg (1)

चितवन, असार ८ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा गर्नुभएको हो।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा उपस्थित भएका छन्।

महाधिवेशनलाई रास्वपाको नीति, संगठन र नेतृत्व परिष्करणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा संगठनात्मक र वैचारिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

महाधिवेशनले वर्तमान तदर्थ केन्द्रीय समितिलाई निर्वाचित संरचनामा रूपान्तरण गर्नेछ। प्रस्तावअनुसार केन्द्रीय समितिमा १५१ जना निर्वाचित हुनेछन् भने सात प्रदेश सभापति पदेन सदस्य रहनेछन्।

निर्वाचन प्रक्रिया दुई चरणमा हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन गरिनेछ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी चयन हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ र विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्। मतदान प्रक्रिया भोलिदेखि सुरु भई पर्सि सम्पन्न हुने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः