प्रदेश सरकारले अझै पूर्ण अधिकार प्राप्त गर्न सकेन-मन्त्री पटेल

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ७ असार।
मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले संघीयतालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताएका छन्।
आइतवार आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा बाराको निजगढस्थित होटल तारा इनमा आयोजित ‘संघीयता सबलीकरणवारे समाचार लेखन सम्बन्धी दुर्ई दिने कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले संविधानमार्फत संघीयता लागू भए पनि प्रदेश सरकारले अझै पूर्ण अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ थियो।
यसैगरी कार्यक्रमका मुख्य प्रशिक्षक तथा राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले संघीयतालाई सबल र प्रभावकारी बनाउन सञ्चारकर्मी तथा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले संघीय शासन प्रणालीका उपलब्धि, चुनौती र आवश्यकतावारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गाले संघीयताको सफल कार्यान्वयनका लागि सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताए। उनले जनतामा संघीयताप्रति सही बुझाइ विकास गर्न सञ्चारमाध्यमले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले संघीयताको विषयलाई अझ गहिराइका साथ जनस्तरसम्म पु–याउन पत्रकारहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका पत्रकारहरूको सहभागीता रहेको थियो। कार्यक्रममा डा. देवकोटोसहित संविधानसभा सदस्य प्रल्हाद लामिछाने, डा. विनय मिश्रले प्रशिक्षण दिएका थिए।
संघीयतासम्बन्धी विषयमा पत्रकारहरूको ज्ञान, क्षमता र समाचार लेखन सीप अभिवृद्धि गर्दै संघीय शासन प्रणालीका उपलब्धि, चुनौती तथा आवश्यकतावारे नागरिकलाई तथ्यपरक सूचना प्रवाह गराउने उद्देश्यसहित आमसञ्चार प्राधिकरणले मधेस प्रदेशमा कार्यक्रमको आयोजना गरेको हो।

सम्बन्धित पोस्टहरुः