सिरहा, असार ९ —
सिरहा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पौदमहा ग्रामपञ्चायत–२ जोगियाका छोटु भनिने रञ्जितकुमार पासवान र एक १६ वर्षीय किशोर रहेका छन्।
भारतीय सीमावर्ती सिरहा नगरपालिका–२१ लगडीगोठमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि चार–पाँच जनाको समूहले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।
गोली लागेर घाइते भएका पासवानको उपचार भइरहेको छ। घटनाका क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्। उनको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट १०१ ग्राम ६ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। प्रारम्भिक अनुसन्धानबाट पासवानले नेपालमा १० देखि १२ केजीसम्म ब्राउनसुगर आपूर्ति गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






