वीरगंज, ९ असार । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित डाँडाटोलमा सर्पले डँसेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार वर्षीया सुप्रिना दोङ रहेकी छिन् । डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनमा अध्ययनरत बालिकालाई घर नजिकै खेल्दै गर्दा सर्पले डँसेको थियो । सोमवार विद्यालयबाट फर्किएपछी बालिका घर नजिकै खेल्दै थिइन् । घटना हुँदा बालिकाको अभिभावक घरमा थिएनन् । उनकी आमा घाँस लिन जंगल गएकी थिइन् भने बुवा रोजगारीका सिलसिलामा विदेशमा छन् ।
घरमा कोही नभएको बेला सर्पले डँसेको र केही समयपछि परिवारका सदस्यले वीरगंजस्थित नारायणी अस्पताल पुर्याएपनि चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीको भनाइ छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयले मंगलवार शोक बिदा दिएका छन् ।







