जेहेन्दार र विपन्न विद्यार्थीका लागि वीरगंज महानगरको छात्रवृत्ति परीक्षा सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ९ —

वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ९ र ११ मा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सोमबार लिखित परीक्षा सञ्चालन गरेको छ।

त्रिजुद्ध माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, नृसिंह माध्यमिक विद्यालय र माईस्थान विद्यापीठ माध्यमिक विद्यालय गरी चार केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको टोलीले सिद्धार्थ माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रको अनुगमन गरेको थियो।

महानगरपालिकाका अनुसार छात्रवृत्तिका लागि कुल २ हजार ४१८ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये कक्षा ९ का लागि ९५७ जना र कक्षा ११ का लागि १ हजार ४६१ जना विद्यार्थीले फाराम भरेका थिए। केही विद्यार्थी परीक्षामा अनुपस्थित पनि रहेका थिए।

दिउँसो २ः३० बजेदेखि ४ बजेसम्म सञ्चालन भएको परीक्षामा १०० वटा वस्तुगत प्रश्न सोधिएको थियो। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ।

आर्थिक रूपमा विपन्न तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले हरेक वर्ष यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ।

सम्बन्धित पोस्टहरुः