९ लाख बढीको ट्रामाडोलसहित चालक नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ९ असार।
पर्सा प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ लैजाँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद गरेको छ। राजश्व छलीको आशङ्कामा नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पठाइएको ट्रक चेकजाँच गर्ने क्रममा उक्त प्रतिबन्धित औषधि फेला परेपछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएको लागुऔषधको बजार मूल्य करिब ९ लाख ८४ हजार २५९ रुपियाँ अनुमान गरिएको छ।
राजश्व छलीको आशङ्कामा नियन्त्रण, चेकजाँच गर्दा लागुऔषध फेला
गत असार १ गते राति अन्दाजी ११ः५६ बजे वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकचोकस्थित सडकखण्डबाट बिल बिजकभन्दा बढी खुद्रा सामान र औषधि लोड गरी वीरगंजबाट काठमाडौं र मोरङतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ३३४६ र ना.६ ख ५५०१ नम्बरका दुर्ईवटा मालवाहक ट्रकहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धान र कारबाहीका लागि ती ट्रकहरूलाई राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ। उक्त कार्यालयले असार ८ गते ट्रकहरूको विस्तृत चेकजाँच गर्ने क्रममा बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रकभित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध फेला पारेको जनाएको छ।
ट्रकबाट प्रहरीले Tramadol Hydrochloride Ip–50 Tramol नामको प्रतिबन्धित औषधि १२०६२ पत्ता (१० का दरले) अर्थात कुल १ लाख २० हजार ६ सय २० ट्याब्लेट बरामद गरेको छ।
प्रतिबन्धित लागुऔषध फेला परेपछि प्रहरीले बा.प्र.०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक र त्यसका चालक जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं. ७ बस्ने २३ वर्षीय सुशिल घलेलाई पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ।
पक्राउ परेका चालक र ट्रकलाई नियन्त्रणमा राखेर लागुऔषध सम्बन्धी कसूर (मुद्दा) मा थप कानुनी अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरुः