वीरगंज, असार १० —
पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयले छात्रवृत्ति कार्यक्रमअन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत छात्रछात्रालाई विद्यालय पोशाकको कपडा वितरण गरेको छ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहका अनुसार शैक्षिक सत्र २०८२ को छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई पोशाकको कपडा प्रदान गरिएको हो। उनले विद्यार्थीहरूमा विद्यालय र शिक्षाप्रति आकर्षण बढाउने उद्देश्यले पोशाक वितरण गरिएको बताए।
कार्यक्रममा विद्यालयका संस्थापक तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुखदेव प्रसादले विद्यार्थीहरूको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षाका लागि निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनका अनुसार हाल पहिलो चरणमा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। बाँकी विद्यार्थीलाई पनि केही दिनभित्र छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ।








