उमेश श्रेष्ठ
पत्रकार, काठमाडौं , असार – १०
हिजो धेरै वटा ब्रेकआउट सेसनमध्ये AI मा जाउँ कि जस्तो लागेको थियो। तर पछि Johanna Rüdiger को सेसनमा जाने सोचेँ। उनी डचे वेले (DW) मा भर्खरै स्थापना गरिएको नयाँ विभागको प्रमुखका रूपमा नियुक्त भएकी छिन्, जसको नाम “Content, Digital Talents, and Content Creator” विभाग हो।
छलफल सुरु भयो प्रश्नबाट- तपाईंहरु मध्ये कति जनाले यो हप्ता टिभीमा सुरुदेखि अन्तिमसम्म समाचार हेर्नुभो?
कसैको हात उठेन !
किनभने समय फेरिएको छ र दर्शकको चाहना पनि।
अहिलेका युवा पुस्ता (विशेषगरी Gen Z) केवल “के भयो?” भन्ने ओभानो रिपोर्टिङ मात्र खोज्दैनन्। उनीहरू समाचारमा ‘आफ्नोपन’ र ‘विश्वसनीयता’ (Authenticity) चाहन्छन्। यसै विषयमा उनी के भन्छन् त?
१. पत्रकार मात्र होइन, ‘कन्टेन्ट क्रिएटर’ बन्नुस्!
अहिलेका मिडिया हाउसहरू आफ्ना पत्रकारहरूलाई परम्परागत शैलीबाट बाहिर निकालेर ‘कन्टेन्ट क्रिएटर’ का रूपमा प्रस्तुत गर्दै छन्। दर्शकहरू समाचार वाचकसँग एउटा व्यक्तिगत सम्बन्ध (Para-social relationship) गाँस्न चाहन्छन्।
२. गम्भीर समाचारलाई कसरी रोचक बनाउने?
गम्भीर वा झट्ट हेर्दा खल्लो लाग्ने समाचार (जस्तै: नयाँ स्वास्थ्य कानुन वा कूटनीतिक भ्रमण) लाई केवल ‘तथ्य’ मात्र नभनी, “यसले तपाईंको व्यक्तिगत जीवनमा के फरक पार्छ?” भन्ने कोणबाट प्रस्तुत गर्दा दर्शकहरूले बढी रुचाउँछन्।
३. लामो भिडियो कि छोटो?
सुरुवाती दिनमा दर्शक तान्न छोटा भिडियोहरू (Reels/TikToks) प्रभावकारी भए पनि, दर्शकहरू गहिरो र विश्लेषणात्मक (Analytical) सामग्री पनि उत्तिक oily खोजिरहेका हुन्छन्। तर मुख्य कुरा—कुरालाई नलम्ब्याई सिधै मुख्य बुँदामा आउनु जरुरी छ।
४. दर्शकका कमेन्टहरू नै तपाईंको शक्ति हुन्!
सफल कन्टेन्ट क्रिएटर वा पत्रकार बन्नका लागि दर्शकका प्रतिक्रिया र कमेन्टहरूलाई ध्यान दिनु र उनीहरूसँग दोहोरो संवाद गर्नु अपरिहार्य भइसकेको छ।
पत्रकारिताको मूल मर्म (तथ्य र निष्पक्षता) लाई नमारी, आधुनिक डिजिटल शैली (Social-first technique) अपनाउनु नै अबको मिडियाको भविष्य हो।
(पत्रकार श्रेष्ठ,तथ्यजाँचकर्ता र माई संसार डट कमका सम्पादक समेत हुन् )







