वन तथा वातावरण संरक्षणमा मधेसमै उत्कृष्ट बन्यो जगरनाथपुर

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १०—

पर्साको जगरनाथपुर गाउँपालिका वन तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत लगातार दोस्रो वर्ष नगद पुरस्कारसहित सम्मानित भएको छ।

संघीय सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा जगरनाथपुर गाउँपालिकालाई मधेस प्रदेशमै प्रथम घोषित गर्दै १ लाख २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो।

रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीका अनुसार स्थानीय स्तरमा वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्‍याएको योगदानको मूल्याङ्कनका आधारमा गाउँपालिका उत्कृष्ट घोषित भएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले अध्यक्ष श्रीकान्त प्रसाद यादवको पहलमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमणमुक्त गरी वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए। सोही अभियानको सकारात्मक परिणामस्वरूप गाउँपालिकाले लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गरेको उनले जानकारी दिए।

यसअघि पनि जगरनाथपुर गाउँपालिकाले वन तथा वातावरण संरक्षण क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत १ लाख २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गरेको थियो।

स्थानीय तहमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको प्रयासको राष्ट्रिय स्तरबाट भएको सम्मानले गाउँपालिकालाई थप उत्साहित बनाएको जनाइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः