न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही हुने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार १० —

सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला उपलब्ध नगराउने रोजगारदातामाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै न्यूनतम ज्यालाभन्दा कम तलबमा श्रमिकलाई काम लगाउनु कानुनविपरीत भएको स्पष्ट पारे।

उनले प्रत्येक श्रमिकले तोकिएको न्यूनतम ज्याला पाउनु उनीहरूको आधारभूत अधिकार भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार गम्भीर रहेको बताए।

सचिव काफ्लेले श्रमिकको मानव अधिकार संरक्षण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले स्पष्ट कार्ययोजना अघि बढाएको जानकारी दिए। श्रममा आबद्ध भएकै समयदेखि भविष्यको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षाको व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

शारीरिक वा मानसिक रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेका श्रमिकको सुरक्षामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षणमा पनि सरकार प्रतिबद्ध रहेको बताए।

भर्खरै

सम्बन्धित पोस्टहरुः