वीरगंज, असार १० —
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले बजेट प्रस्तुत गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी हो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ (५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ (४४.६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ।
महानगरले संघीय वित्तीय हस्तान्तरण, आन्तरिक राजस्व, संघीय तथा प्रदेश राजस्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषबाट बजेटको स्रोत व्यवस्थापन गर्ने जनाएको छ।
बजेट प्रस्तुत गर्दै कानुले शिक्षा, स्वास्थ्य, सरसफाइ, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए।
यसअघि कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।







