राधेश्याम पटेल, परवानीपुर, १० असार —
बाराको छातापिपरामा सञ्चालित नारायणी इस्पात प्रालिका मजदुरहरू श्रम ऐन कार्यान्वयन र निष्कासित दुई जना मजदुरको पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। मजदुरहरूले बुधबार उद्योगको मूल गेट नजिक धर्ना कार्यक्रम सुरु गरेका हुन्।
वीरगंजको क्याल समूह अन्तर्गत सञ्चालित उक्त उद्योगमा कार्यरत दैनिक ज्यालादारीका दर्जनौं मजदुरहरूले माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघको एकाइ गठन गरी श्रम कार्यालय वीरगंजमा ट्रेड युनियन दर्ताका लागि निवेदन समेत दिएकाे बुझिएको छ।
एकाइ अध्यक्ष कृष्णा यादवका अनुसार झन्डै चार सय मजदुर कार्यरत रहेको उद्योगमा श्रमिकहरूको हकअधिकारबाट वञ्चित गर्न खोजिएको, दमन र शोषण बढ्दै गएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। यस विषयमा श्रम कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय बारालाई समेत जानकारी गराइसकिएको उनले बताए।

मजदुरहरूले मूल गेटभन्दा पर शान्तिपूर्ण धर्ना दिइरहे पनि उद्योग व्यवस्थापन र प्रहरीले सहयोग नगरेको तथा टेन्ट र त्रिपाल हटाउन दबाब दिएको आरोप लगाएका छन्।
फलामका डण्डी, जस्तापाता र एंगल च्यानल उत्पादन हुने उक्त उद्योगमा मजदुरहरूले सुरक्षाका न्यूनतम सामग्री जस्तै जुत्ता, पञ्जा, हेल्मेट र ज्याकेट उपलब्ध नगराइएको तथा श्रम ऐनले तोकेकोभन्दा कम पारिश्रमिक दिइएको आरोप समेत लगाएका छन्।
यता उद्योगका प्रशासन प्रतिनिधि अनिल गुप्ताले हकअधिकारको विषयमा श्रम कार्यालयमा प्रक्रिया अघि बढिसकेपछि धर्ना दिनुको औचित्य नरहेको बताए। उनले श्रम ऐनविपरीत गतिविधि गरेको आरोपमा सुरेश प्रसाद कानु र सन्तोष रामलाई एक साताअघि कामबाट हटाइएको र त्यसैलाई निहुँ बनाएर अन्य मजदुरहरूले विवाद सिर्जना गरिरहेको दाबी गरे।







