वीरगंज, असार १० —
मुस्लिम समुदायको आगामी पर्व मोहरम (ताजिया) शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भावका साथ सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकमा पर्वको सुरक्षा, व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको थियो। बैठकमा हिन्दु धार्मिक अगुवा रञ्जीत शाहले मोहरम कार्यक्रम सञ्चालनका लागि आयोजक संस्थाको आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्य दर्ता हुनुपर्ने माग राखेका थिए।
प्रमुख जिल्ला अधिकारी दाहालले मुस्लिम समुदायका प्रतिनिधिलाई आयोजक संस्थाको आधिकारिक पत्र बिहीबारभित्र प्रशासनमा दर्ता गराउन निर्देशन दिँदै त्यसपछि जिल्ला सुरक्षा समितिको बैठकबाट अन्तिम रुट तथा सुरक्षा योजना तय गरिने जानकारी दिए।
बैठकले मोहरम पर्वलाई व्यवस्थित र सौहार्दपूर्ण बनाउन ९ बुँदे आचारसंहिता समेत जारी गरेको छ। आचारसंहितामा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्रै र्याली सञ्चालन गर्ने, हातहतियार तथा उच्च ध्वनियुक्त उपकरण प्रयोग नगर्ने, सामाजिक तथा धार्मिक सद्भावमा असर पर्ने गतिविधि नगर्नेलगायत व्यवस्था समेटिएका छन्।
पर्व अवधिभर सुरक्षा व्यवस्थापन र समन्वयका लागि मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।
बैठकमा विभिन्न धार्मिक, सामाजिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वीरगंजको धार्मिक सद्भाव कायम राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








