वीरगंज, असार १ २ —
बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित एक मोटरपार्ट्स पसलबाट १४ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिम्रौनगढ–६ निवासी ३३ वर्षीय कृष्णकुमार साह सोनारले सञ्चालन गरेको मोटरपार्ट्स पसलमा गाँजा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी चौकी अमृतगञ्ज खजनी र इलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त टोलीले बुधबार छापा मारेको थियो।
पसलको काउन्टरभित्र कालो प्लास्टिकको झोलामा राखिएको पाँच वटा सानो प्याकेटबाट प्लास्टिकसहित १४ ग्राम गाँजा बरामद भएपछि साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा पठाइएको छ।







